
बर्दिबास–१०/११ खयरमारामा रहेका कतिपय विद्यालय तथा सामुदायिक सरकारी निकायहरूको साधारणसभा र उपभोक्ता भेलामा अभिभावक तथा उपभोक्ताहरूको अत्यन्तै कम उपस्थिति देखिन थालेको छ। यस कारणले गर्दा हालसालै कतिपय सभा तथा भेलाहरू अर्को दिनका लागि सार्नुपर्ने अवस्था आएको छ।
हिजोकै दिनमा भएको खयरमारा खानेपानी तथा उपभोक्ता समितिको साधारणसभामा ६६० घरधुरी उपभोक्ता मध्य करिब करिब १५० उपभोक्ताको न्यून उपस्थिति रहेकोले असोज ३ गतेका लागि भेला सार्नु परेको छ। त्यो भन्दा पहिलेनै हुने भनिएको श्री लक्ष्मी नारायण जनता माध्यमिक बिद्यालयको अभिभावक भेला तथा खयरमारा जल तथा उपभोक्ता समितिको भेला पनि सरेको छ।स्थानीय जनताका अनुसार यस स्थितिको प्रमुख कारण भने राजनीतिक भागबन्डाको आधारमा पदाधिकारी चयन हुनु हो। कतिपय स्थानमा, साधारणसभा हुनु अगाडि नै नेताहरूले आपसमा सहमति गरेर राजनीतिक रूपमा मिल्ने व्यक्ति वा समूहमै मात्र पदाधिकारी चयन गरिँदै आएको छ। यसले गर्दा साधारणसभा मात्र औपचारिकतामा सीमित हुने गरेको छ, जसमा अभिभावक तथा उपभोक्ताहरूको कुनै सक्रिय भूमिका नदेखिएको स्थानीयहरूको भनाइ छ।
एक स्थानिय उपभोक्ता हरिबिनोद चौलागाईंले भने, “पदाधिकारी चयनको प्रक्रिया नै पहिल्यै टुंगो लागिसकेको हुन्छ, त्यसैले भेलामा जानुको कुनै अर्थ हुँदैन। जनताले जति बोले पनि परिणाम उस्तै रहन्छ।” राजनीतिक भागबन्डाको यस्तो प्रवृत्तिले गर्दा खयरमाराको जनतामा सामुदायिक भेलाप्रति चासो घट्दै गएको छ। यसले गर्दा विद्यालय व्यवस्थापनदेखि अन्य सरकारी निकायहरूको कामकाजमा समेत गम्भीर असर परिरहेको छ।विश्लेषकहरूका अनुसार यस्ता राजनीतिक भागबन्डाका कारण सामुदायिक हितको स्थानमा व्यक्तिगत र राजनीतिक स्वार्थ प्रमुख बन्ने गरेको छ, जसले गर्दा वास्तविक अभिभावक र उपभोक्ताहरूको चासो घट्दै गएको हो।यो समस्या समाधान गर्नका लागि सामुदायिक संस्थाहरूले राजनीतिक प्रभावबाट मुक्त भई स्वच्छ र निष्पक्ष प्रक्रिया अपनाउनु आवश्यक देखिएको छ। साथै, जनतामा विश्वास र सहभागिता बढाउनका लागि राजनीतिक भागबन्डाको जालो तोडेर जनताका वास्तविक प्रतिनिधिहरूको छनोट गरिनुपर्ने स्थानीय बुद्धिजीवीहरूको सुझाव छ।
यसैबीच, खयरमारामा रहेको खानेपानी उपभोक्ता तथा व्यवस्थापन समितिका अध्यक्ष भिमनाथ गौतमले भने, “हामी सबैलाई सहभागी गराउने प्रयास गरिरहेका छौं। यस पटकको साधारणसभालाई थप प्रभावकारी बनाउन छलफल गर्दैछौं।”अबको चुनौती भनेकै राजनीतिक भागबन्डाको असर कम गर्दै समुदायलाई अझै क्रियाशील र जिम्मेवार बनाउन सकेमात्रै यस्ता भेलाहरूको औचित्य कायम रहन सक्नेछ।
