मकवानपुरबाट ८ किलो सुन सहित दुई पक्राउ

२०८१ असोज १९

मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १५, रातोमाटे चेकपोष्टमा प्रहरीले अवैध सुन जस्तो देखिने पहेलो धातु सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ८ किलो २४३ ग्राम ९७० मिलिग्राम तौल भएको अवैध धातु फेला पारेको हो।

बिहान अन्दाजी ३:०० बजे, पथलैयाबाट हेटौडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी जाँच गर्दा, महाराष्ट्र राज्यका सांगली जिल्ला निवासी अभिषेक अजिनाथ कुटी (२५ वर्ष) र राहुल भिट्टिहाल (२७ वर्ष) पक्राउ परेका छन्। स्कुटर तथा उनीहरूको शरीरमा लुकाइ राखिएको सुन जस्तो देखिने धातु बिना बिल र भन्सार छलि ल्याइएको पाइएको छ।

उक्त धातुको बजार मूल्य हालको दरमा ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० पैसा पर्ने अनुमान गरिएको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाउने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *