
मकवानपुर, २२ असोज २०८१
मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चकपोस्टमा ३९२ किलो लागूऔषध गाँजा सहित दुई व्यक्तिलाई पक्राउ गरिएको छ। प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा पुर्व पश्चिम लोकमार्गमा पालुङबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख १७७१ नम्बरको पेट्रोलियम पदार्थ ओसार्ने ट्याङ्करलाई बिहान ३:१५ बजे चेकजाँच गर्दा लागूऔषध फेला परेको हो।
पक्राउ परेका व्यक्तिहरूमा मकवानपुर, मनहरी गाउँपालिका-९ निवासी २६ वर्षीय चालक रोशन पुरी र सहचालक २२ वर्षीय धन बहादुर मल्ल रहेका छन्। ट्याङ्करको ५ वटा डिब्बामध्ये ३ नम्बर डिब्बाभित्र लुकाएर राखिएको २५ वटा पोका रातो प्लास्टिकले बेरेको अवस्थामा ३९२ किलो गाँजा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले गाँजा र ट्याङ्कर गाडीसहित दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताएको छ।

