
नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ। समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलका अनुसार, कात्तिक १८ गते आइतबार बिहान ११:३७ बजे भाइटीकाको उत्तम साइत निर्धारण गरिएको हो।
समितिले पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने जनाएको छ।यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्व कात्तिक १३ गते मंगलबारबाट सुरु हुँदैछ। यस दिन धनत्रयोदशी (धनतेरस) पर्व मनाइनेछ भने कात्तिक १४ गते बुधबार यमदीपदान र कागतिहार पनि मनाइनेछ। आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि सोही दिनमा परेको छ।कात्तिक १५ गते बिहीबार कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा मनाइनेछ भने कात्तिक १६ गते शुक्रबार औँशी परेको छ, तर यस दिनमा तिहारको कुनै विशेष पर्व भने परेको छैन।
कात्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा तथा नेपाल संवत् ११४५ को प्रारम्भ हुने समितिले जानकारी दिएको छ। यसैगरी, कात्तिक २२ गते बिहीबार छठ पर्व मनाइनेछ।

