साफ महिला च्याम्पिअनशिपः नेपाललाई आज उपाधि जित्ने अवसर

नेपाल महिला राष्ट्रिय फुटबल टोलीले लगातार दोस्रोपटक साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बाङ्लादेशसँग प्रतिस्पर्धा गर्न लागेको छ। बुधबार हुने यस खेलमा नेपालले साबिक विजेता बाङ्लादेशलाई पराजित गर्दै पहिलो पटक उपाधि जित्ने लक्ष्य राखेको छ। पाँचपटक फाइनल पुगेर पनि उपाधिविहीन रहेको नेपालले यसपटक घरेलु मैदान दशरथ रंगशालामा जित हासिल गर्ने अवसर पाएको हो।

सेमिफाइनलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा पराजित गरेपछि बाङ्लादेशसँगको फाइनल पक्का गरेको थियो। उक्त खेलमा विवादास्पद र तनावपूर्ण अवस्था सिर्जना भए पनि नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान पक्का गरेको थियो। तर, फाइनल खेलमा नेपालले आफ्नी महत्त्वपूर्ण स्ट्राइकर रेखा पौडेललाई गुमाएको छ। लगातार पहेंला कार्ड पाएका कारण उनले फाइनल खेल्न पाउने छैनन्।

नेपाली टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले यस खेललाई बदला भन्दा पनि उपाधि जित्ने अवसरका रूपमा लिएको बताएकी छन्। उनले भनिन्, ‘हामीले च्याम्पियन बन्ने लक्ष्यसहित खेल्नेछौं। यसपटक जित्न नसके अझै लामो समय पर्खनुपर्ने हुन सक्छ। त्यसैले हाम्रा लागि यो खेल अत्यन्तै महत्त्वपूर्ण छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *