
खयरमारा, महोत्तरी
– प्रहरी कार्यलय खयरमाराका असाई अर्विन्द पाण्डेको नेतृत्वमा समाज सुधार अभियान अन्तर्गत वालविवाह मुक्त समाज निर्माण र लागुऔषध सेवनविरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
यस अभियान अन्तर्गत, श्री लक्ष्मिवास माध्यमिक विद्यालय, वडा नं. १० झ्याउरेमा आयोजित कार्यक्रममा असाई पाण्डेले वालविवाहका नकारात्मक प्रभावबारे बिस्तृत जानकारी दिनुभएको छ। वालविवाहलाई कानूनी, शारीरिक, र मानसिक रूपमा हानिकारक रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि समुदायको सक्रिय सहभागिताको आवश्यकता औंल्याउनुभयो।

वालविवाह भनेको कानूनी उमेरभन्दा अघि हुने विवाह हो, जसले किशोर-किशोरीको शिक्षा, स्वास्थ्य, र उज्ज्वल भविष्यमा प्रत्यक्ष असर पुर्याउँछ। यसका साथै, यसले महिलामाथिको हिंसा र असमानताको चक्रलाई थप बल दिन्छ।

कार्यक्रममा लागुऔषध दुर्व्यसनको हानिकारक असरबारे पनि जनचेतना फैलाइएको थियो। सहभागी विद्यार्थी, शिक्षक र अभिभावकलाई लागुऔषधको सेवनले व्यक्तिगत जीवन र समाजमा पार्ने नकारात्मक प्रभावबारे सचेत गराइएको थियो।
