
नेपालका विभिन्न क्षेत्रमा शक्तिशाली भूकम्पको झट्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्पको केन्द्रबिन्दु नेपाल नभई चीनको सिजियाङ क्षेत्रमा रहेको छ।भूकम्पको झट्का आज बिहान ६:५० बजे महसुस गरिएको थियो।
अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७.१ म्याग्निट्यूडको भएको पुष्टि गरेको छ। सुरूमा नेपालको लोबुचे क्षेत्रलाई केन्द्रबिन्दु बताइए पनि पछि यो विवरण परिमार्जन गर्दै चीनको सिजियाङ क्षेत्रलाई केन्द्रबिन्दुका रूपमा उल्लेख गरिएको छ।
नेपालको सोलुखुम्बु जिल्लालगायत विभिन्न स्थानमा भूकम्पको प्रभाव महसुस भएको छ। सोलुखुम्बुको सल्लेरी क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस गरिएको भए पनि हालसम्म कुनै भौतिक वा मानवीय क्षति भएको विवरण प्राप्त नभएको सहायक प्रमुख जिल्ला अधिकारी रुपेश विश्वकर्माले बताएका छन्।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार, भूकम्पको झट्का पश्चिम बङ्गाल, असम, बिहार र दिल्लीसहित उत्तर भारतका विभिन्न स्थानमा समेत महसुस गरिएको छ।
