
माघ -८
बर्दिबास नगरपालिका–११, खयरमारामा राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाजको आयोजनामा महिलाहरूका लागि १० दिने आधारभूत इलेक्ट्रिसियन र प्लम्बिङ तालिमको उद्घाटन गरिएको छ। तालिम १० र ११ नम्बर वडा कार्यालयको समन्वय र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको सहयोगमा सुरु भएको हो।

तालिमको उद्घाटन कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष प्रेम मोक्तानको अध्यक्षता र आयोजक संस्थाका उपाध्यक्ष सुगम भट्टराईको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा भट्टराईले संस्थाले २०७२ सालको महाभूकम्पपछि पीडितहरूको जीवनस्तर सुधार्न सिपमूलक तालिम सञ्चालन गर्दै आएको र यसले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न उल्लेखनीय योगदान पुर्याएको बताउनुभएको थियो।
कार्यक्रम संयोजक सुनिता रिजालका अनुसार तालिममा २० जना महिलाहरू सहभागी भएका छन्। जसमध्ये १० जनालाई इलेक्ट्रिसियन र १० जनालाई प्लम्बिङ सम्बन्धी तालिम दिइनेछ।
तालिमको उद्देश्य स्थानीय महिलाहरूलाई दक्ष सिपमार्फत आत्मनिर्भर बनाउँदै रोजगारीका अवसर सिर्जना गर्नु रहेको राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाजले जनाएको छ।

राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाजले २००६ देखि ६८ भन्दा बढी जिल्लामा यस्तै सिपमूलक र शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। साथै, यस संस्थाले अपाङ्गता भएका व्यक्तिहरूका लागि विभिन्न सहायक सामग्री वितरण गरी सामाजिक पुनर्स्थापनामा योगदान दिँदै आएको छ।
