
वैदेशिक रोजगारीमा रहेका युवा तथा स्थानीय समाजसेवीहरूको सहयोगमा सर्लाहीको लालबन्दी नगरपालिका–१५, झरझरामा टुहुरा दुई बालबालिकालाई आवास निर्माण गरी हस्तान्तरण गरिएको छ।
लालबन्दी–१५ चिसापानीका १३ वर्षीया सुमिना वाइवा र सात वर्षीय सुमित वाइवालाई दुई कोठे पक्की घर निर्माण गरी हस्तान्तरण गरिएको हो। उनीहरूका पिता भोजबहादुर वाइवाको दुई वर्षअघि क्यान्सरका कारण निधन भएको थियो भने आमा एक वर्षअघि वैदेशिक रोजगारीका लागि विदेश गएपछि सम्पर्कविहीन बनेकी छन्।
ती बालबालिकाको बसोवासका लागि लालबन्दी–१६, परवानीपुरका राजु थापा र सरोजकुमार खड्काले पाँचधुर जग्गा प्रदान गरेका थिए। गैरआवासीय नेपाली संघ (जापान) मा आबद्ध युवाले दुई लाख रुपैयाँ, लालबन्दी–१२, लालभित्तीका उमेश थोकरले ५२ हजार रुपैयाँ बराबरको झ्याल, ढोका तथा उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकीले झ्यालका लागि ग्रिल सहयोग गरेका छन्। अन्य दुई दर्जनभन्दा बढी स्थानीय युवाले आर्थिक तथा श्रमदानमार्फत योगदान पुर्याएका छन्।
गोरखापत्र बाट साभार
