
नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले महोत्तरी क्षेत्र नम्बर १ बाट लगातार दुई पटक प्रतिनिधिसभा निर्वाचनमा हार बेहोरेका छन्।
पछिल्लो समय सम्पन्न भएको उपनिर्वाचनमा ठूलो मतान्तरले पराजित भएपछि उनको क्षेत्रीय प्रभावमाथि गम्भीर प्रश्न उठेको छ।
२०७९ को आम निर्वाचनमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवारका रूपमा चुनाव लडेका पोखरेल नेकपा (एमाले)का लक्ष्मी महतो कोइरीसँग मात्र १,०३० मतले पछि परेका थिए। महतोले २३,४०२ मत प्राप्त गर्दा पोखरेलले २२,३७२ मत ल्याएका थिए।
यो हारपछि महोत्तरीमा उनको दबदबा कमजोर भएको संकेत मिलेको थियो। त्यसपछि हालै फागुन २२ मा सम्पन्न उपनिर्वाचनमा पनि उनी सोही क्षेत्रबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार बने तर, यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमोद कुमार महतोसँग फराकिलो मतान्तरले हारे। प्रमोद कुमार महतोले ३४,६३६ मत प्राप्त गर्दा पोखरेलले मात्र १२,६२४ मत पाए।
यस निर्वाचनमा नेकपा (एमाले) का लक्ष्मी महतो कोइरीले ६,५९१ मत ल्याएर तेस्रो स्थान हासिल गरे भने नेपाली कांग्रेसका मुकेश राज काफ्लेले ६,२१३ मत पाए। खोटाङ जिल्लामा जन्मिएका पोखरेलले लामो समयदेखि महोत्तरीलाई आफ्नो राजनीतिक कर्मभूमि बनाएका छन्। उनी २०६४ र २०७० को संविधानसभा निर्वाचन तथा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए।
विभिन्न समयमा स्वास्थ्य, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका उनी माओवादी आन्दोलनका पुराना योद्धा मानिन्छन् । तर, पछिल्ला दुई निर्वाचनमा लगातार पराजयले उनको राजनीतिक भविष्यमाथि बहस सुरु भएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार, मधेस क्षेत्रमा नयाँ दलहरूको उदय, युवा मतदाताको परिवर्तनशील सोच र स्थानीय मुद्दाहरूले पुराना नेताहरूलाई चुनौती दिइरहेको छ । उपनिर्वाचनमा रास्वपाको अप्रत्याशित जितले यो प्रवृत्तिलाई पुष्टि गरेको छ।
