निर्मल पुर्जामाथि महिला आरोहीद्वारा यौन दुर्व्यवहारको आरोप

प्रख्यात आरोही निर्मल पुर्जामाथि महिला आरोहीहरूले गम्भीर यौन दुर्व्यवहारको आरोप लगाएका छन्। ‘द न्युयोर्क टाइम्स’का अनुसार यी घटनाहरू हिमाल आरोहणका क्रममा भएका हुन्।

पूर्व मिस फिनल्याण्ड लोट्टा हिन्टसा र डा. अप्रिल लियोनार्डोले पुर्जाबाट यौन दुर्व्यवहार भोगेको दाबी गरेका छन्। तर, पुर्जाले भने यी आरोपहरू खारेज गरेका छन्। सन् २००८ मा ८ हजार मिटरभन्दा माथिका विश्वका १४ वटा हिमालहरू सफलतापूर्वक आरोहण गरेपछि पुर्जा चर्चामा आएका थिए र हाल उनी हिमाल आरोहणसम्बन्धी कम्पनी चलाउँछन्।

सन् २०१९ मा प्रकाशित आफ्नो संस्मरणमा, हिन्टसाले ‘एक चर्चित आरोही’बाट दुर्व्यवहारमा परेको उल्लेख गरेकी थिइन्, तर न्युयोर्क टाइम्ससँगको कुराकानीमा उनले स्पष्ट रूपमा पुर्जाको नाम लिएकी छिन्। हिन्टसाका अनुसार पुर्जाले उनको कोठामा आएर जबरजस्ती गर्न खोजेका थिए र अस्वीकार गरेपछि उनको छेउमा बसेर हस्तमैथुन गरेका थिए।

त्यसैगरी, डा. अप्रिल लियोनार्डोले पनि पुर्जाले आफूलाई जबरजस्ती समाएर चुम्बन लिएको दाबी गरेकी छिन्। केटू हिमाल आरोहणका क्रममा पुर्जा उनको गाइड थिए र सोही समयमा यो घटना भएको उनले बताएकी छिन्।

यसको जवाफमा, पुर्जाले आफ्नो इस्टाग्राम स्टोरी (निम्सदाइ) मा आफू निर्दोष भएको र गरिएका दाबीहरू झुटो भएको बताएका छन्। उनले पत्रिकालाई आरोपहरू असत्य भएको प्रमाण दिएका दाबी गरेका छन्। पुर्जाले समाचारमा धेरै तथ्यहरू गलत रहेको र आरोप लगाइएको दिन आफूले गरेको काम र स्थानको टाइमलाइन पत्रिकालाई उपलब्ध गराएको बताएका छन्। उनले प्रत्यक्षदर्शीहरूको बयानलाई समावेश नगरी केहीको मात्र भनाइको आधारमा समाचार तयार गरेको आरोप पनि लगाएका छन्।

पुर्जाले सत्य बाहिर आउने आशा व्यक्त गर्दै कानुनी उपचारको तयारी गरिरहेको जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *