
असार ४, खयरमारा
नेपालको सन्दर्भमा भन्ने हो भने सामान्यतया: प्रतिदिन प्रतिव्यक्ति ४५ लिटर पानी उपलब्ध भएमा आधारभूत स्तरको सुविधा मानिन्छ । त्यसमा पानी लिएर आउने समय ३० मिनेटभन्दा कम हुनुपर्छ । खानेपानी मन्त्रालयको पछिल्लो विवरण र त्यहाँका अधिकारीको भनाइमा देशभर ९० प्रतिशत बढी जनसङ्ख्यामा आधारभूत खानेपानीको पहुँच छ । यसमध्ये २५ प्रतिशतले मात्र शुद्ध पिउने पानीको प्रयोग गर्छन् । तर मुहान सुकेर पानीको अभाव भएपछि खयरमाराका दर्जनभन्दा बढी बस्तीका स्थानीय आधारभूत सुविधाबाटै बञ्चित हुनुपरेको छ ।खयरमाराका पाका व्यक्तिहरू आफैँले देखे भोगेका कैयौँ धाराहरु सुक्दै र हराउँदै गएको बताउँछन् ।
खयरमाराका पाका व्यक्तिहरूले प्रयोग गरिरहेका गाउँघरका पानीका मूलहरू सुकेर गएको आफ्नै आँखाले देख्नुभएको छ । पुर्खादेखि प्रयोग हुँदै आएको घर नजिकैको धारोमा अहिले पानी छैन र ती धाराहरू पनि छैन। बिहान सधैँ गाग्रोमा पानी भर्ने खयरमारामा अहिले सिमेन्टको ट्याङ्की मात्रै बाँकी रहेको र प्रत्येक घर घरमा जडान गरिएको मिटर वाला धारामा पालो अनुसार बिहान/बेलुका १५ मिनेट पानी आउँछ । पालो अनुसार आएको यो पानीले पिउने बाहेक अन्य घरायसी कामका लागि नपुग्ने भएकाले यहाँ पानीनै सबैभन्दा अपरिहार्य र महंगो भएको छ। यदि खयरमारामा पुग्दो पानी भए कयौं दु:ख त्यसै हट्थ्यो ।खयरमारा पहिले अन्नबाली प्रशस्त हुने ठाउँ हो । धान, मकै, गहुँ, तोरी, उखु सबै बाली लाउने गरिन्थ्यो ।अहिले पानीको मुहान सुक्दै गएको छ । पानी मात्र भएको भए खेती गर्न, प्रसस्त तरकारी बाली लगाउन सकिन्थ्यो ।खयरमारामा सुख्खापन बढ्दै गएकाले अहिले कृषि बाली, पशुपालन लगायतको काम गरेर आयआर्जन गर्ने सम्भावना घट्दै गएको दुखेसो पोख्ननुहुन्छ यहाँका स्थानीय वासिन्दा । ‘पहिले उब्जाउ थियो, तीन बालीसम्म खेती हुन्थ्यो’ स्थानीय भन्नुहुन्छ, ‘पालेको गाईबस्तुले समेत समयमा पानी खान पाउँदैनन् अनि कसरी खेतीपाती हुन्छ ?’खयरमारा बर्दिबास न. पा. को उत्तर पश्चिम भेगमा पर्छ ।यस अघिका बर्ष र दशकमा देशका केही भागमा सुख्खापन बढेर कृषि उत्पादन घट्दै गएको अध्ययनहरूमा पनि देखिन्छ । विगत ४ दशकमा नेपालमा खडेरीको अवस्था बारे सन् २०२१ मा गरिएको एक अध्ययनले यस क्षेत्र चरम सुख्खापन र खडेरीबाट गुज्रिएको उल्लेख छ । त्यस्तै इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डिभलेपमेन्ट (इसिमोड) द्वारा प्रकाशित अर्को रिपोर्टले खयरमाराका केही गाँउहरुमा निरन्तर खडेरीका कारण अन्नबालीको उत्पादनमा ह्रास आएको आकलन गरेको छ । सुख्खापन, खडेरी र पानीका मुहान सुक्नुमा जलवायु परिवर्तन एक प्रमुख कारक हो भन्छन् यस क्षेत्रका विज्ञहरू ।

( खानेपानी मर्मत गर्न जाँदै स्थानीय बासिन्दा)
जलवायु वैज्ञानिक डा. सन्तोष नेपालले पानीको मुहान दुई कारणले सुक्ने गरेको दाबी गर्नुहुन्छ । एक, पानी पर्ने प्रक्रियामा आएको परिवर्तन । अर्को, पानी जमिनभित्र जाने क्रममा अवरोध भएमा भूमिगत भण्डारण घटेर मुहान सुक्दै जाने । उहाँका अनुसार, जलवायु परिवर्तनसँगै बढ्दो तापमान वृद्धिले पनि पृथ्वीको सतह र माटोको तापक्रम बढ्छ, जसले जमिनमा भण्डारण भएको पानी वाष्पीकरण (पानी तातिएर बाफ हुने प्रक्रिया) भएर जान्छ र स्रोत सुक्छ । ‘जमिनमुनि पानी भण्डार भइरहन थोरै मात्रामा सिमसिमे पानी लामो समयसम्म पर्नुपर्छ । तर अहिले जलवायु परिवर्तनले छोटो समयमा भारी वर्षा हुने गर्छ, जसले जमिनमुनि पानी जान कम हुन्छ र त्यस्तो पानीले भू-क्षय, बाढीपहिरो मात्रै बढाउँछ’ भन्नुहुन्छ, ‘पानी पर्ने तौरतरिकामा आएको फेरबदल पनि जलवायु परिवर्तनको एउटा लक्षण हो । यसले गर्दा अतिवृष्टि र अनावृष्टि भइरहेको छ ।’पशुपालन, खेती किसानीमा उपयोग गर्न परम्परागत रुपमा बनाइएका पोखरीहरू मासिने क्रममा छन् । पानी पोखरीले भूमिगत जल भण्डारलाई पुनर्भरण गर्न मद्दत गरेको हुन्छ । तर पोखरी मासिन थालेपछि तल्लो भागमा अन्य कुनै मुहानहरू रसाइरहन पाउँदैनन् ।
राष्ट्रिय योजना आयोगले पनि सन् २०१६ मा यस्तै अध्ययन गरेको थियो । राष्ट्रिय जलवायु परिवर्तन प्रभाव सर्वेक्षण २०१६ को प्रतिवेदन, अनुसार ७४.२९ प्रतिशत घरपरिवारले पानीका स्रोतहरूमा परिवर्तन भएको देखेका छन् । अनि ८४.४७ प्रतिशतले स्रोतमा पानीको मात्रा घटेको महसुस गरेका छन् ।नेपाल मात्रै होइन, जलवायु परिवर्तनको कारण पानीका स्रोतहरू सुक्ने, हराउने र सर्ने समस्या अरू मुलुकहरूमा समेत विकराल बन्दै गएको छ । जल, जमिन र भूमिगत पानीको महत्त्वको विषयमा दक्षिण एसियाका विभिन्न ठाउँलाई समेटेर अनुसन्धानकर्ताले तयार पारेको एक लेखले भविष्यमा सुख्खाग्रस्त वर्षहरूले हिउँको पानी र जमिनमुनिका भूमिगत पानीको महत्त्व र आवश्यकता अझ बढाएको बताइएको छ । दक्षिण एसियाले सिँचाइका लागि जमिनमुनिको पानीको अभाव सामना गर्नुपर्ने औँल्याइएको छ । अनि, भविष्यमा जमिनमुनिको पानी भण्डारणमा हुने कमीले खडेरी बढेर जाने अध्ययनमा उल्लेख छ ।के होला समाधानको प्रयास ?

आफ्नो वडा अत्यन्त सुख्खा ग्रस्त भएको कुरा स्वीकार गरि बर्दिबास न.पा. ११ को ०८१/८२ को सम्पुर्ण बजेट खानेपानीको दिगो र भरपर्दो स्रोत पहिचान गरि त्यस्को ब्यबस्थापनमा लगाऔं । खानेपानीको अभावले आधारभूत जीवनयापनमै कठिनाइ भएको र सामाजिक जीवनका धेरै पाटोमा असर पारेको कुरा आत्मसात गरौं ।घरमा पानीको समस्या समाधानका लागि धेरैजसो घरमा महिलाहरू नै काम गर्नुपर्ने भएकाले उनीहरूको स्वास्थ्य, बालबालिकाको पठनपाठनमा समस्या छ। यसले गर्दा आयआर्जन हुन सकेन । रोजगारीका लागि परुषहरू अन्यत्र जानुपर्ने अवस्था छ ।
यश बारेमा भोलि हुने भनिएको बर्दिबास न. पा. ११ को आर्थिक वर्ष ०८१/८२ को योजना छनोट सार्बजनिक सुनुवाइ कार्यक्रममा के हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।
