
जलेश्वर, महोत्तरी – २०८१।०३।०६
जिल्ला महोत्तरीको जलेश्वर नगरपालिकामा वडा नं. २ स्थित जिल्ला समन्वय समिति महोत्तरीको सभाहलमा आज १४:३० बजे लागु औषध गुरुपयोग तथा ओसारपसार बिरुद्ध अन्तरराष्ट्रिय दिवश जुन २६, २०२४ को अवसरमा साप्ताहव्यापी कार्यक्रमको सुरुवात भएको छ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीको आयोजना र जिल्ला प्रहरी कार्यालय महोत्तरीको समन्वयमा सम्पन्न भएको यो कार्यक्रममा सरोकारवाला सम्बन्धित निकायहरूका प्रतिनिधिहरूसंग अन्तरक्रिया कार्यक्रम भएको थियो।
कार्यक्रममा लागु औषधको दुरुपयोग र यसको ओसारपसारले समाजमा पारेको प्रभाव, यसको नियन्त्रणका लागि गरिएका प्रयास र आगामी दिनमा अपनाउनुपर्ने रणनीतिहरूका बारेमा छलफल भयो। प्रमुख जिल्ला अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै लागु औषध नियन्त्रणमा समुदायको सहकार्यको महत्व र यसमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुखले प्रहरीको तर्फबाट लागु औषध नियन्त्रणमा गरिएका पहल र यसको परिणामबारे जानकारी गराए। साथै, सामुदायिक सचेतना कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूसंग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, अभिभावक, सामाजिक संस्थाका प्रतिनिधिहरू, स्थानीय नेताहरू, र अन्य सरोकारवालाहरूको उपस्थिति थियो। सहभागीहरूले लागु औषधको दुरुपयोगले युवापुस्तामा पारेको नकारात्मक असर र यसलाई नियन्त्रण गर्न सामूहिक प्रयासको आवश्यकता बारे आफ्नो धारणा राखे।

यो कार्यक्रमको प्रमुख उद्देश्य समाजमा लागु औषध दुरुपयोगको जोखिमलाई न्यून गर्न, जनचेतना अभिवृद्धि गर्नु र सरोकारवाला निकायहरूसंग सहकार्य गरी प्रभावकारी नियन्त्रण रणनीतिहरू अवलम्बन गर्नु हो।
साप्ताहव्यापी कार्यक्रम अन्तर्गत विभिन्न सचेतना कार्यक्रम, कार्यशाला, र जनचेतना अभियानहरूको आयोजना गरिनेछ।
