महोत्तरीमा १५० किलो गाँजासहित दुई जना पक्राउ

महोत्तरी, १७ सेप्टेम्बर: महोत्तरी जिल्लामा ठूलो मात्रामा गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरी र इलाका प्रहरी कार्यालय रामगोपालपुरको संयुक्त टोलीले रामगोपालपुर नगरपालिका–५ बाट १५० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरूमा धादिङको धुनीबेँसी नगरपालिका–६ का ३० वर्षीय सञ्जीप खत्री र चितवनको खैरेनी नगरपालिका–१ का १८ वर्षीय सुदिप अधिकारी रहेका छन्। प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार, पक्राउ परेका खत्री र अधिकारी बा प्र ०१–०२६च १३३६ नम्बरको पिकअप सवारीका चालक र सहचालक हुन्।

प्रहरीले गोप्य सूचनाको आधारमा पिकअप गाडीलाई रोकी जाँच गर्दा त्रिपालभित्र लुकाइएको १० पोका गाँजा भेट्टाएको थियो। उनीहरूलाई जलेश्वरतिर गाँजा लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। दुवै जनामाथि थप कानुनी कारबाही अघि बढाइएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जैसवारले यस घटनाको थप अनुसन्धान जारी रहेको र गाँजा ओसारपसारको विषयमा कडा कारबाही गरिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *