
बर्दिबास, असोज ३ –
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमसहित हर्षोल्लासका साथ मनाइँदैछ। नेपालको संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते मनाइने यो दिवस यसपटक पनि विशेष कार्यक्रमका साथ मनाइँदैछ छ।
आज बिहान सैनिक मञ्च टुँडिखेलमा प्रमुख समारोह सम्पन्न हुँदैछ, जसमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको छ। उक्त कार्यक्रममा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्नुहुने कार्यक्रम छ। साँझ राष्ट्रपति निवास राप भवनमा स्वागत समारोहको आयोजना हुने पनि तय भएको छ, जसमा विभिन्न उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहनेछ।
संविधान दिवसका अवसरमा संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, नागरिक समाज, गैरसरकारी संघ–संस्था र निजी क्षेत्रबाट समेत विविध कार्यक्रम आयोजना गरिँदैछ। साथै, विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूले पनि संविधान दिवसको उपलक्ष्यमा कार्यक्रम गर्दैछन्।
