
केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) का प्रमुखको नाम र फोटो प्रयोग गरी TRUECALLER App मार्फत धाक धम्की दिने कार्यमा संलग्न एक व्यक्तिलाई प्रहरीले बिराटनगर महानगरपालिका, वडा नं. १ ठूलो मिल चोकबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ३० वर्षीय हेम कुमार खड्का रहेका छन्। प्रहरीका अनुसार खड्काले CIB को नाम र प्रमुखको फोटो प्रयोग गरी TRUECALLER App मा आफ्नो पहिचान गलत रुपमा प्रस्तुत गरेर धाक धम्की दिने गरेका थिए। उनले ब्यूरोका कर्मचारी भएको भन्दै विभिन्न व्यक्तिहरुसँग फोन सम्पर्क गरी गैरकानूनी लाभ उठाउने प्रयास गरेका थिए।पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यालय, मोरङबाट थप अनुसन्धान एवं कानुनी कारवाही भईरहेको प्रहरीले जनाएको छ।
केन्द्रीय अनुसन्धान ब्यूरोले TRUECALLER लगायत अन्य App हरुमा कर्मचारीको नाम, लोगो वा अन्य संकेत प्रयोग गरी यस्ता गैरकानूनी गतिविधिमा संलग्न रहेको कुनै जानकारी भएमा तुरुन्तै ब्यूरोमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।

