
मिति २०८१।०७।१२ गते बिहान करिब ९ बजे महोत्तरी जिल्लाको पिपरा गाउँपालिका वडा नं. ७ स्थित अशोक ठाकुरको आँपको बगैँचामा एक अपरिचित महिलाको शव फेला परेको थियो। मृतक महिलाको अनुहार जलाइएको थियो र रातो साडीले अनुहार ढाकिएको थियो। अनुसन्धानको क्रममा मृतकको सनाखत धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ७ गोदार निवासी रामनाथ मण्डलकी श्रीमती लक्ष्मीनिया देवीको रूपमा भएको छ।प्रारम्भिक अनुसन्धानले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ५ निवासी २२ वर्षीय राकेश नायक र उनकी २५ वर्षीया श्रीमती रीना देवी महरालाई घटनामा संलग्न रहेको देखाएको छ। प्रहरीका अनुसार, राकेश र रीना विगत ५ वर्षदेखि भारतको विभिन्न शहरमा मजदुरको रूपमा काम गरिरहेका थिए। केही महिना पहिले, राकेश आफ्नी कान्छी श्रीमती लक्ष्मीनिया देवीलाई नेपाल ल्याएका थिए। तर, उनको पहिलो श्रीमतीले दोस्रो विवाहको विरोध गरिरहेकी थिइन्। लक्ष्मीनियाले समेत अंश मागेर प्रहरीमा उजुरी गर्ने धम्की दिएको बताइएको छ।मिति २०८१।०७।११ को राति, यी तीनबीच पारिवारिक कलह भएको थियो। यही क्रममा, १२ गते बिहान करिब २ बजे लक्ष्मीनिया देवी घरबाट बाहिर निस्किएकी थिइन्। उनीहरू अशोक ठाकुरको आँपको बगैँचामा पुग्दा राकेश र रीना देवीले लक्ष्मीनियाको हत्या गरेर शवलाई बगैँचाको छेउमा रहेको कुलोको डिलमा फालेका थिए। हत्या पश्चात, अनुहारलाई रातो साडीले ढाकेर आगो लगाइएको थियो।घटनाको अनुसन्धान गर्दै जाँदा, प्रहरीले १४ गते राकेश नायक र रीना देवीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।
