
बर्दिबास, असोज २६
सर्लाहीको घारीबथानबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा घाइते भएका यात्रुहरूको उपचार खर्च नबेहोरेको भन्दै पीडित परिवार र स्थानीय बासिन्दाले आज बिहानदेखि बर्दिबास क्षेत्रको वि.पी राजमार्ग अवरुद्ध गरेका छन्।

गत असोज १७ गते बिहान ६:३५ बजे सर्लाहीको घारीबथानबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख १४६४ नम्बरको सुनौलो वि.पी यातायात प्रा.लि.को बस खयरमारा–१० मा अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा दर्जनौं यात्रु घाइते भएका थिए। तीमध्ये गम्भीर अवस्थाका यात्रुहरूको उपचार हाल काठमाडौँस्थित ट्रमा सेन्टर, विर अस्पताल र भक्तपुर इन्टरनेशनल अस्पतालमा भइरहेको छ।

पीडित परिवारका अनुसार उनीहरूले सोही कम्पनीकै टिकट काटेर यात्रा गरेका थिए। तर दुर्घटनापछि सुनौलो बीपी यातायात प्रा.लि.का अध्यक्ष कान्छामान तामाङले बस अब कम्पनीमा आबद्ध नरहेको भन्दै जिम्मेवारी अस्वीकार गरेका छन्।

पीडित परिवारले सामाजिक सञ्जालमार्फत् असोज २६ गतेदेखि बीपी राजमार्ग बन्द गर्ने चेतावनी दिएका थिए। सोही अनुसार आज बिहानदेखि बर्दिबास–१० र ११ का स्थानीय बासिन्दा र पीडित परिवारले सडकमा उत्रिएर बीपी राजमार्ग अवरुद्ध गरेका छन्।
