सिन्धुली बैंक डाँका घटनामा संलग्न ७ जना पक्राउ

Oplus_131072

मिति : २०८२।१०।०२जिल्ला सिन्धुली घ्याङलेख गाउँपालिका वडा नं. २, हायुटारस्थित नेपाल एस.बि.आई. बैंक शाखा कार्यालयमा भएको बैंक डाँका घटनामा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

घटना विवरण

मिति २०८२।०९।२९ गते साँझ करिब १९:३० बजेको समयमा अपरिचित ५/६ जनाको समूहले उक्त बैंक शाखामा प्रवेश गरी सुरक्षा गार्ड रुद्रबहादुर कार्की तथा बैंकका कर्मचारीहरूलाई नियन्त्रणमा लिई खुकुरी प्रहार गरी सामान्य घाइते बनाएको र बैंकभित्र रहेको नगद रकम लुटी फरार भएको सूचना जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा प्राप्त भएको थियो।

प्रहरी अनुसन्धान तथा कारबाही

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बस्तीपुर सिन्धुलीबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुग्दा बैंकका कर्मचारी तथा सुरक्षा गार्डलाई दुईवटा कोठामा हातखुट्टा बाँधिएको र मुखमा टेप टाँसिएको अवस्थामा फेला पारी तत्काल उद्धार गरिएको थियो। लुटपाटमा संलग्न व्यक्तिहरुको खोजतलास तथा पक्राउका लागि सम्भावित नाकाहरूमा प्रहरी परिचालन गरिएको थियो।घटनाको गम्भीरता मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी उपरीक्षकको कमाण्डमा करिब ५० जना प्रहरी परिचालन गरिएको थियो। खोजतलासका क्रममा घटनास्थलबाट करिब २ कि.मी. पूर्व लिपिखोलामा BAD ०३९८ नम्बरको टाटा सुमो र चालक भागवत सिंह थापालाई फेला पारी नियन्त्रणमा लिइएको थियो। प्रारम्भिक सोधपुछका क्रममा काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट अपरिचित व्यक्तिहरुले विवाह प्रयोजनका लागि भनी उक्त सवारी साधन रिजर्भ गरेको खुल्न आएको थियो।मिति २०८२।०९।२९ गते राति जङ्गलका विभिन्न स्थानमा बोरामा लुकाइराखिएको तथा छरपष्ट अवस्थामा रहेको रु. १,८०,१०,५००/- (एक करोड असी लाख दश हजार पाँच सय रुपैयाँ) बरामद गरिएको थियो।त्यसैगरी, मिति २०८२।०९।३० गते बिहान घ्याङलेख गाउँपालिका वडा नं. १, सुकाचुरीबाट ४ जना शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरी खानतलासी गर्दा रु. ५,०९,६७५/- फेला परेको थियो। उनीहरूको बयानका आधारमा थप रु. ८३,३५,०००/- रकम, नकाब, पञ्जा, नक्कली प्लास्टिकको पेस्तोल तथा घटनामा प्रयोग भएका कपडाहरू समेत बरामद गरिएको छ।

अनुसन्धानका क्रममा बैंक रहेको घरधनी छविलाल स्याङ्तान र चतुरमान बज्युको समेत संलग्नता देखिएकाले उनीहरूलाई क्रमशः मिति २०८२।०९।३० र २०८२।१०।०१ गते पक्राउ गरिएको हो। प्रारम्भिक बयान अनुसार उनीहरूले मिति २०८२ साल असोज महिनादेखि नै बैंक लुट्ने योजना बनाई तयारी तथा सूचना संकलन गर्दै आएको खुल्न आएको छ।बैंकको विवरण अनुसार उक्त घटनामा करिब रु. ३ करोड ७ लाख रकम लुटिएको थियो।

बरामद सामग्री

नगद रकम : रु. २,६८,५५,१७५/-खुकुरी : २ थानप्लास्टिकको पेस्तोल : १ थानमोबाइल फोन : ५ थानपानी टेप (प्रयोग भएको) : १ थाननकाब : ४ थानकालो पञ्जा : १ जोर

पक्राउ परेका व्यक्तिहरू

भागवत सिंह थापा (४९), काभ्रेपलाञ्चोकचतुरमान बज्यु (४७), घ्याङलेख–२, सिन्धुलीशशांक श्रेष्ठ (२४), भरतपुर–२, चितवनमिलन गिरी (२३), पञ्चकन्या–५, नुवाकोटविवेक मगर (१९), नुवाकोटछविलाल स्याङ्तान (४४), घ्याङलेख–२, सिन्धुलीपरिवर्तित नाम (१६), जिल्ला गोप्य

पक्राउ परेका सबै प्रतिवादीहरूलाई मिति २०८२।०९।३० गतेदेखि लागू हुने गरी सम्मानित सिन्धुली जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ।

सूचना अधिकारी

सूर्य प्रकाश सुवेदी

प्रहरी नायव उपरीक्षक

जिल्ला प्रहरी कार्यालय सिन्धुली

Leave a Reply

Your email address will not be published. Required fields are marked *