सर्लाहीको चुरे क्षेत्रमा यातायात अवरुद्ध, स्थानीय बासिन्दा समस्यामा

सर्लाही, २ असोज – सर्लाही जिल्लाको लालबन्दी नगरपालिकाको दुर्गम गाँउ नारायणखोलामा असारदेखि यातायात ठप्प भएको छ। वर्षायाम सुरु भएसँगै बाढीले खोलाका बाटाहरू बिगारेपछि चुरे भेगका गाउँमा यातायातका साधन अवरुद्ध भएका हुन्। नारायण खोला, शीर कालिञ्जोर, पिपलदमार लगायतका विकट बस्तीहरूमा बस सेवासमेत ठप्प भएपछि स्थानीयहरूलाई किनमेल तथा औषधोपचारका लागि घण्टौं पैदल हिँड्न बाध्य हुनुपरेको छ।

लालबन्दी बजारसम्म सडक सञ्जालले जोडिए तापनि बर्खायाममा खोला बगरको बाटो प्रयोग गर्नुपर्दा गाडी सञ्चालन रोकिएको छ। पत्थरकोटसम्म मात्र यातायात पुगेको भए पनि त्यहाँबाट चारदेखि पाँच घण्टासम्म पैदल यात्रा गर्नुपर्ने बाध्यता छ। नारायण खोला क्षेत्रमा वर्षायाममा बाढीका कारण बस सेवा अवरुद्ध हुँदा स्थानीयहरू दशैंको मुखमा निराश बनेका छन्।चुरे क्षेत्रका बासिन्दाहरू घाँस, दाउरा संकलन तथा दैनिक कामकाजमा समेत समस्यामा परेका छन्। पिउने पानीको मुहानमा बाढी पसेर पानी दूषित भएको गुनासो पनि छ। शुद्ध पिउने पानीको अभाव र यातायात अवरुद्धताका कारण चुरे क्षेत्रका जनजीवन कष्टकर बनेको छ।लालबन्दी नगरपालिकाका वडा नं. १४ का अध्यक्ष छेनाम सिंह घिसिङले नारायण खोला क्षेत्रमा सडक विस्तारका लागि प्रयास भइरहेको भए पनि चुरेको भूगोलका कारण सुगम जिल्लाहरूजस्तो सहज रूपमा सडक बनाउन कठिनाइ भएको बताए। नारायण खोला क्षेत्रमा सञ्चार सेवाको अभावले थप समस्या निम्त्याएको छ।ईश्वरपुर नगरपालिका र लालबन्दी नगरपालिकाका चुरे भेगका बस्तीहरूमा वर्षायाम सुरु भएसँगै यातायात ठप्प हुँदा स्थानीयहरू घण्टौं पैदल यात्रा गर्न बाध्य भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *