
सर्लाहीको हरिपूर्वामा एक युवकले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् भने उनका बुवा गोली लागेर घाइते भएका छन्। घटना हरिपूर्वा नगरपालिका-५ मा घटेको हो, जहाँ धीरेन्द्र यादव नामका युवकले आफ्नी २३ वर्षीया श्रीमती चित्रलेखा यादवलाई गोली हानी हत्या गरेका हुन्।प्रहरीका अनुसार यो घटना गएराति पौने २ बजेको समयमा भएको थियो। धीरेन्द्र आफ्नो साथीको साथ मोटरसाइकलमा आएका थिए। साथीले मोटरसाइकल बाहिर रोकेर बसिरहेका बेला धीरेन्द्र घरभित्र पसेर चित्रलेखामाथि गोली प्रहार गरेका थिए।टाउकोमा दुई राउन्ड गोली लागेपछि चित्रलेखाको घटनास्थलमै मृत्यु भएको थियो। यसै क्रममा धीरेन्द्रका ५४ वर्षीय बुवा रामदिनेश रायलाई पनि गोली लागेको छ, जसको उपचार अहिले प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ।गोली प्रहार गरेपछि धीरेन्द्र साथीको साथमा मोटरसाइकलबाट फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनास्थलमा प्रहरीले दुई राउन्ड गोलीको खोका र एक राउन्ड मिस फायर भएको गोली बरामद गरेको छ। घटनामा सानो हतियार प्रयोग भएको अनुमान छ, तर हतियार भने अझै फेला परेको छैन।प्रहरीले धीरेन्द्र र उनका साथीसँगै आएका व्यक्तिहरूको खोजी कार्य जारी राखेको जानकारी प्रहरीले दिएका छन।
