
गण्डकी प्रदेशका प्रदेश सभा सदस्य र पूर्व मन्त्री दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ। मंगलबार बिहान काठमाडौंको सानो भर्याङबाट पक्राउ गरिएको जानकारी सीआईबीका एसपी होबिन्द्र बोगटीले दिएका छन्। उनलाई केहीबेरमा अदालतमा पेश गरिने जनाइएको छ।
२० वर्ष पुरानो विवादमा भएको घटनामा सर्वोच्च अदालतले कात्तिक २० गते मनाङेलाई दोषी ठहर गर्दै पाँच वर्ष कैद सजायको फैसला सुनाएको थियो। २०६१ सालमा मनाङेले आफ्ना प्रतिद्वन्द्वी चक्रे मिलन भनिने मिलन गुरुङलाई खुकुरीले आक्रमण गर्दा उनको हात छिनिएको थियो। यस घटनामा काठमाडौं जिल्ला अदालतले मनाङेलाई कुटपिटमा दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय सुनाएको थियो। यो सजाय पूरा गरेपछि उनी रिहा भएका थिए।
तर, सरकारी वकील कार्यालयले पाटन पुनरावेदन अदालतमा मुद्दा दायर गरेपछि अदालतले २०६९ सालमा मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको थियो। अदालतको यो निर्णयविरुद्ध न पुनरावेदन गरेका मनाङे न पक्राउ परेका थिए। बरु उनी २०७४ सालमा मनाङबाट प्रदेश सभा सदस्यको चुनाव जितेर राजनीतिमा सक्रिय बनेका थिए।
यो घटनापछि मात्रै मनाङे दोषी ठहर भएको व्यक्ति रहेको सार्वजनिक भएको थियो। त्यसपछि उनी पक्राउ परे पनि फैसलाबारे आफूलाई थाहा नभएको बताउँदै मुद्दा बाहिरै बसेर लड्ने सुविधा पाएका थिए। २०७५ सालमा सर्वोच्च अदालतमा पुनरावेदन दिएपछि हाल सर्वोच्चले पाँच वर्ष कैदको पुरानै फैसला सदर गरेपछि उनी पुनः पक्राउ परेका हुन्।
