निर्मला पन्तको बलात्कारपछि हत्या: प्रत्यक्षदर्शीको दाबीमाथि CIB काे अनुसन्धान

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या घटनामा प्रत्यक्षदर्शी भएको दाबी गर्ने नवराज अर्यालसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोधपुछ गरेको छ। गोरखा घर भएका अर्याललाई मंगलबार सिआइबीले काठमाडौंमा बोलाएर करिब ३/४ घण्टा सोधपुछ गरेको थियो। सोधपुछपछि बुधबार पुनः उपस्थित हुने सर्तमा उनलाई छोडिएको भए पनि बुधबारदेखि उनी सम्पर्कविहीन भएका छन्। उनले आफ्नो मोबाइल घरमै छाडेर हिँडेका थिए, जसबारे सिआइबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिए।एसपी बोगटीका अनुसार अर्यालले घटनाबारे गरेका दाबीहरू तथ्यगत आधारमा ठोस नभएको र काल्पनिक देखिने बताइएको छ। अर्यालले घटनाको प्रत्यक्षदर्शी भएको दाबी गरे पनि उनका भनाइ र घटनाबारे तथ्य एक-अर्कासँग मेल नखाएको प्रहरीको भनाइ छ। साथै, अर्यालले सरकारी जागिरबाट सवारी चालक अनुमति पत्र विवादका कारण ७७ सालमा बर्खास्तीमा परेका थिए भन्ने तथ्य पनि खुलेको छ।अर्यालले यो विषयमा आफैमाथि पनि अनुसन्धान गर्न माग गर्दै एक टेलिभिजन अन्तर्वार्तामा घटनाबारे दाबी गरेका थिए। यद्यपि, सिआइबीले संवेदनशील घटनाबारे आधारहीन दाबी गर्दा आम मानिसमा गलत सन्देश पुग्ने र नकारात्मक प्रभाव पर्ने भन्दै यस प्रकारका दाबीहरूको समाचार प्रचारमा सतर्कता अपनाउन अनुरोध गरेको छ।प्रहरीले थप अनुसन्धान जारी राख्ने र अर्यालको भनाइमा आधार नपाइएमा कानूनी प्रक्रिया अघि बढाउने संकेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *