
मोरङको बुढीगंगा गाउँपालिकास्थित कोशी ग्यास उद्योगले उपभोक्ताका लागि पठाएको सिलिन्डरमा तौल कम पाइएको छ। उपभोक्ताले खरिद गरेका चार सिलिन्डरमा चार केजीसम्म ग्यासको कमी देखिएपछि स्थानीय प्रशासन र गुणस्तर तथा नापतौल कार्यालयले अनुसन्धान अघि बढाएका छन्।विराटनगर–३ बुद्धचोकमा राखिएका चारवटा सिलिन्डरमा ग्यासको तौल क्रमशः १०.७४ केजी, ९.७४५ केजी, ८.८ केजी र १३.७६५ केजी मात्र पाइएको हो। नापतौल नियमअनुसार हरेक सिलिन्डरमा १४ केजी दुई सय ग्राम ग्यास हुनुपर्ने भए पनि पाइएको तौल निकै कम देखियो। यसबाट उपभोक्ताको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ।स्थानीय किशोर चापागाईंले यी सिलिन्डरमा ग्यास कम भएको आशंकामा जिल्ला प्रहरी मोरङमा उजुरी दिएका थिए। अनुसन्धानपछि गुणस्तर तथा नापतौल कार्यालयको टोलीले पनि घटनाको पुष्टि गरेको हो। वाणिज्य विभागले मुचुल्का तयार पार्दै राजकुमार मण्डल र उद्योगका प्रतिनिधि विपिन मण्डललाई समेत नियन्त्रणमा लिएको छ।गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख शम्भुकुमार झाका अनुसार, विक्रेता र उद्योगसँग थप सोधपुछ गरिनेछ। यस घटनाले उपभोक्तासम्म पुग्ने उत्पादनको गुणस्तर र नापतौल व्यवस्थामा ध्यान पुर्याउन सम्बन्धित निकायलाई चुनौती खडा गरेको छ।
