
जनकपुरधाम, कात्तिक ३० – सन् २०२५ को फेब्रुअरीमा हुने १९ वर्ष मुनिका महिला टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा पहिलो पटक छनौट भएको नेपाली महिला क्रिकेट टोलीका खेलाडीलाई मधेश प्रदेश सरकारले सम्मान गर्ने घोषणा गरेको छ।मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले नेपाली टोलीलाई बधाई दिँदै मधेश प्रदेशका खेलाडीलाई प्रोत्साहन स्वरूप नगद पुरस्कार प्रदान गरिने जानकारी दिनुभएको छ। मन्त्री जयसवालका अनुसार टोलीका कप्तान पूजा महतोसहित अन्य खेलाडीलाई प्रति व्यक्ति एक लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ।मन्त्री जयसवालले नेपाली महिला क्रिकेट टोलीले विश्वकपमा छनौट भएसँगै नेपाल र नेपालीको शान बढाएको उल्लेख गर्दै खेलाडीहरूको मनोबल उच्च पार्न सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बताउनुभयो।नेपाली महिला टोलीले विश्वकपमा स्थान बनाउँदै देशको प्रतिष्ठा बढाएको र यस प्रकारको सम्मानले मधेश प्रदेशका खेलकुद क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।
