
महोत्तरी, मङ्सिर ७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महोत्तरी जिल्ला प्रशासन कार्यालयमा कार्यरत नायब सुब्बा (नासु) अशोककुमार यादवलाई घुससहित पक्राउ गरेको छ।
यादवले २० हजार रुपैयाँ घुस लिँदै गर्दा शुक्रबार बिहान नियन्त्रणमा लिइएको हो।प्राप्त जानकारी अनुसार, सवारी ज्यान मुद्दामा सवारीधनीले जम्मा गरेको क्रिया खर्च रकम मृतकका हकवालालाई दिनुपर्नेमै यादवले पटक–पटक घुस मागेका थिए।
पीडित पक्षले अख्तियारमा उजुरी दिएपछि आयोगले यादवलाई निगरानीमा राखेको थियो।शुक्रबार बिहान अख्तियारको टोलीले मुद्दा शाखाका नासु यादवलाई २० हजार रुपैयाँ नगदसहित पक्राउ गरेको हो। अख्तियारका अनुसार यादवले मृतकका परिवारबाट उक्त घुस रकम लिएको पुष्टि भएको छ।
अख्तियारले यादवविरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढाइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
