
सिन्धुली प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटको एम्बुलेन्सबाट ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन्। प्रहरीको टोलीले बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको बाप्र ०१-००२ झ ६६९० नम्बरको एम्बुलेन्सबाट १० ग्राम ब्राउन सुगर बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार राति बर्दिबास–३ स्थित बीपी राजमार्गमा एम्बुलेन्सको तलासी गर्दा यो पदार्थ बरामद गरेको हो। एम्बुलेन्सको साइरनभित्र रहेको माइक्रोफोनभित्र लुकाइएको अवस्थामा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) रेवतीरमण पोखरेलका अनुसार चालकसहित पक्राउ परेकाहरुको नाम भने थप अनुसन्धान प्रभावित हुने भन्दै सार्वजनिक गरिएको छैन।
