महोत्तरीमा हत्या गरी फरार रहेका व्यक्ति वीरगञ्जबाट पक्राउ

युवतीको हत्या गरी फरार रहेका एक युवकलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ। गत असोज २३ गते महोत्तरीको बर्दिवास नगरपालिका–५ टुटेश्वर जंगलस्थित नालामा अन्दाजी २०/२२ वर्षकी महिलाको शव फेला परेको घटनामा संलग्न सर्लाहीका मन्दीप कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मृतक जिल्ला महोत्तरी गाउँपालिका–४ की २२ वर्षीया अनु राय रहेको खुलेको छ। विवाह गर्ने सहमति सहित असोज २२ गते टुटेश्वर मन्दिर पुगेका दुबैजनाबीच फर्किने क्रममा विवाद भएको थियो। प्रहरीका अनुसार विवादले उग्ररूप लिएपछि मन्दीपले डोरीले अनु रायको घाँटी कसी हत्या गरेको खुलेको छ।

घटना लगत्तै फरार रहेका मन्दीपलाई प्रहरीले खोजतलास गर्ने क्रममा पर्साको वीरगञ्ज महानगरपालिका–४ आदर्शनगरबाट पक्राउ गरेको हो।पक्राउ परेका यादवले घटनाको स्वीकारोक्ति बयान दिएकाले उनलाई कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालतमा म्याद थपको लागि पेश गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *