
जलेश्वर, माघ २५ – महोत्तरी जिल्लामा ६०२ किलो लागुपदार्थ गाँजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार राति प्राप्त गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले ट्रकबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नन्दकिशोर प्रसाद चौहानका अनुसार प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकमा लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा उक्त गाँजा भेटिएको थियो।शुक्रबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलनको आयोजना गर्दै ट्रकसहित पक्राउ परेका चालक गणेशबहादुर विश्वकर्मालाई सार्वजनिक गरेको छ। उनी कटारी नगरपालिका–१ निवासी २३ वर्षीय युवक भएको खुलेको छ।भंगहाबाट बरामदबर्दिवास–जलेश्वर सडकखण्डअन्तर्गत भंगहा नगरपालिका–६ मजरामा रहेको अस्थायी प्रहरी पोष्ट जमुनिया र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त टोलीले बर्दिवासबाट जलेश्वरतर्फ जाँदै गरेको ट्रकलाई जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो।प्रहरी निरीक्षक चौहानका अनुसार ट्रक खाली अवस्थामा देखिए पनि माथिल्लो भागमा कालो त्रिपालले छोपेर, डोरीले बाँधेर गाँजा लुकाइएको थियो। “यत्रो ठुलो परिमाणमा गाँजा बरामद भएपछि ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ,” चौहानले बताए।हाल बरामद गरिएको गाँजा, ट्रक र चालकलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
