मानव तस्करीमा गृहमन्त्री संलग्न नरहेको गृह मन्त्रालयको दाबी

भिजिट भिसाको नाममा गृह प्रशासनबाटै मानव तस्करी भइरहेको घटना सार्वजनिक भएपछि गृहमन्त्री रमेश लेखकको भूमिकामाथि प्रश्न उठिरहेका बेला मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण जनाएको छ।

मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयसँग जोडिएका पछिल्ला घटनाक्रमलाई लिएर आएको आलोचना र आरोपहरूलाई ‘कपोलकल्पित, भ्रामक र आधारहीन’ भन्दै खण्डन गरेको छ।विज्ञप्तिमा भनिएको छ, “यस्ता कुनैपनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं।” मन्त्रालयले यस्ता विषयहरूमा सत्य तथ्यमा आधारित समाचार मात्र प्रकाशित–प्रसारित गर्न अनुरोध गर्दै, अनुसन्धान प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुखविरुद्ध अनुसन्धान अघि बढाएको पुष्टि भएसँगै गृह मन्त्रालय, गृहमन्त्रीको सचिवालय र स्वयं गृहमन्त्री लेखककै भूमिकाप्रति पनि प्रश्न उठ्न थालेका छन्।शनिबार नै गृहमन्त्री लेखकले सार्वजनिक अभिव्यक्तिमा आफू “दुई–चार दिनमै यसबारेमा बोल्ने” जानकारी दिएका थिए। उनले पछिल्ला घटनाक्रमप्रति चासो राख्दै “धेरै कुरा थाहा पाइसकेको” दाबी पनि गरे। कांग्रेस नेता शेखर कोइरालाले नैतिकताको आधारमा गृहमन्त्रीलाई राजीनामा दिनुपर्ने सुझाव दिएका छन्।विज्ञप्तिमा भनिएको छ, “मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्न गृह प्रशासन निरन्तर क्रियाशील रहेको छ। मन्त्रालयले सबै प्रकारका अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै गृह प्रशासनलाई व्यवस्थित गर्न नीतिगत तथा संस्थागत सुधारका कार्यहरू गर्दै आएको छ।”विमानस्थल अध्यागमन कार्यालयका कामकारबाहीमाथि अख्तियारले छानबिन गरिरहेको उल्लेख गर्दै, मन्त्रालयले अनुसन्धानपछि सत्य तथ्य सार्वजनिक हुने बताएको छ।

“आयोगबाट हुने छानबिन तथा अनुसन्धान सम्बन्धी कार्यमा मन्त्रालयको पूर्ण सहयोग रहने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ,” विज्ञप्तिमा उल्लेख छ।

यसै सन्दर्भमा गृहमन्त्री लेखकले सार्वजनिक प्रतिक्रिया दिँदै आफू केही दिन मौन बसेर विषयको अध्ययन गरिरहेको र छिट्टै विस्तृत धारणा सार्वजनिक गर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *