
सिन्धुली, चुरे – २०८२ जेठ १७ गते, शनिबार राति सिन्धुलीको कमलामाई नगरपालिका–९ चुरेस्थित बी.पी. राजमार्गमा एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।
सिन्धुलीबाट बर्दीबासतर्फ जाँदै गरेको खयरमारा स्वास्थ्य चौकीको म.प्र.०४–००१ झ ००१२ नम्बरको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको ज १० प ८३९४ नम्बरको मोटरसाइकल ठक्कर हुँदा मोटरसाइकल चालक सिन्धुली कमलामाई नगरपालिका–७ का २६ वर्षीय फाल्गुनी बस्नेत घाइते भएका हुन्। उनको टाउकोमा चोट लागेपछि तत्कालै त्यही एम्बुलेन्समार्फत बर्दीबासस्थित जनसेवा अस्पतालमा उपचारको लागि लगिएको इलाका प्रहरी कार्यालय भिमानले जनाएको छ। हाल उनको अवस्था मध्यम रहेको छ।
घटनास्थलमा खटिएको ट्राफिक प्रहरीको टोलीले दुर्घटनाग्रस्त मोटरसाइकललाई ट्रयाक्टरमा लोड गर्ने क्रममा मोटरसाइकलको ब्याट्री पड्किँदा आगलागी भएको थियो।
आगलागीबाट मोटरसाइकलमा पूर्ण रुपमा क्षति पुगेको छ। त्यस्तै, मोटरसाइकल लोड गर्न सहयोग गरिरहेका सिन्धुली कमलामाई नगरपालिका–९ का २८ वर्षीय किरण कुमार दनुवार आगलागीबाट आत्तिएर हामफाल्दा बायाँ खुट्टामा चोट लागेको र उनलाई पनि उपचारका लागि बर्दीबास पठाइएको इलाका प्रहरी कार्यालय भिमानले जनाएको छ।
