
महोत्तरी तथा सर्लाहीको उत्तरी भेग चुरे भूभाग भन्दा तल रहेको बाँके खोला, छोड्के खोला, तथा खयरमारा खोलाको अधिकांश स्थानीय बासिन्दाले पछिल्लो केही वर्ष देखि नेपालमा प्रतिबन्धित लागुऔषधको रुपमा रहेको गाँजा खेती व्यवसायीक रुपमा गर्ने गरेका छन् । भौगोलिक विकटता, गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारीका लागि अन्य जिल्ला तथा वैदेशिक रोजगारी बाट फर्केकाहरू समेत यसै पेशामा संलग्न छन्। सरकारी बिद्यालयमा अध्यापन गराउने शिक्षक समेत यश पेशामा लागेका छन्। यश प्रतिबन्धित गाँजा खेती पछिल्लो वर्ष भन्दा यो वर्ष बर्दिबास १०/११ खयरमाराका तल्लो भेगमा बस्ने अन्य व्यक्तिले समेत जमिन भाडामा लिएर गाँजा खेती गरेकाले झनै मौलाएको ठोकुवाका साथ भन्न सकिन्छ । माथिल्लो भेगका आर्थिक रुपले विपन्न परिवार जो सँग कसैले ऋण पत्याउने हैसियत छैन जो सँग गाँजा खेती गर्नका लागि आवश्यक जमिन खनजोत गर्ने, सिचाइका लागि पानितान्ने मोटर किन्ने, प्राविधिकलाई दिने, मलखाद, रोप्ने/गोडमेल/काट्ने/बनाउने आदिका लागि पैसा नहुने हातका औँलामा गन्न मिल्ने गरिब व्यक्ति बाहेक अन्य सबैले व्यवसायीक रुपमा गाँजा खेती गर्ने गरेका छन् ।
यसै गाँजा खेतीका लागि महोत्तरी, सर्लाही, बारा, पर्सा लगाएत अन्य जिल्लाहरू बाट प्राविधिक टोली ३ देखि ४ पटक राम्रो गाँजा बनाउनका लागि आउने गरेका छन् ।पाकेर काटेर राखेको गाँजा बनाउने जनका लागि आउने परिवार सहितका मधेसी मुलका मानिसको त झन खयरमारा तल्लो भेगमा धान काट्ने बेला आउने मानिसको चहलपहल भन्दा दोब्बर त म पङ्तिकार आँफैले स्तलगत निरिक्षणको बेला देखेको छु जसले तयार गरेबापत ४०० रुपैयाँ प्रतिकिलो लिनेगरेका छन् ।

यो गाँजा खेती गर्न त्यति सजिलो भने छैन, एउटा भर्खर जन्मेको बच्चालाई जसरि स्याहार सुसार गर्नुपर्छ, बेलामा पानी गोडमेल मलखाद र प्राविधिक लगाएन भने राम्रो हुँदैन सबै लगानी स्वाहा हुन्छ । राम्रो बनायो बेच्न सजिलो छैन। टाठाबाठाले त जसोतसो बेच्लान कटाउलान, हामी सोझासाझालाई बिचौलियाले मारमा पारिदिन्छन् । सोझासाझा किसानहरूलाई बिचौलियाले कम मूल्यमा गाँजा किन्ने र अधिक नाफा लिने गरेको किसानहरूको गुनासो छ। प्रहरी प्रशासनलाई पैसा खुवाउनका लागि दुहुनो भैंसी समेत बेच्नु परेको र दु:ख पसिना समेत उठ्दैन भन्दै अधिकांशले दुखेसो पोख्छन ।यहाँ व्यवसायीक रुपमा हुने गाँजा खेती प्राय सबैलाई थाहा छ । पोहोर सर्लाहीको मलंगवाबाट आउने प्रहरी तथा पत्रकारहरुको टोलीले बाँके खोला मास्तिरको एउटाको एक गराको गाँजा त्योपनि पाक्नै लागेको काटेर एउटै गरालाई १७ एङ्गलबाट खिचेर टन्न खसिभात खाएर यसो अलिअलि दझिणा लिएर बाटोलागेको भन्दै एक गाँजा कृषक हसौँली गर्छन । फाँडेको किसानलाई कसरी मिलाउँछन त बाजे भन्ने मेरो प्रश्नमा सबै मिलेर पैसा उठाउने खसी खुवाउने अनि दक्षिणा दिने फाँडिएको गाँजाको सबैले अलिअलि गाँजैनै दिने फाडिनेको त झनै दोब्बर तेब्बर भन्दै फेरि हाँसो थप्छन् ।

स्थानीय सरकार, ईलाका प्रशासन, जिल्ला प्रशासन, आम जन समुदाय, बुद्धिजीवी भद्रभलाद्मी सबैलाई थाहा भएको यश गाँजा खेतिका बारेमा सबै तैँ चुप मैँ चुप छन् ।दिनहुँजसो ब्यापारीहरु समातिएका समाचार पनि आइरहेका छन्। २०८१-१०-२० गते ११० किलो समातियो मान्छे फरार भए, १२-३० गते सिन्धुपाल्चोकका एक मानिस सहित ५४७ किलो समातियो, १२-०८ गते मकवानपुरका एक मानिस सहित ४७७ किलो समातियो, १२ -१८ गते मकवानपुरकै एक मानिस सहित २३४ किलो समातियो २०८२ साल ०२-१६ गते खयरमाराकै एक व्यक्ति ४० किलो सहित पक्राउ परे।।समातिनेहरू थोरै पारिश्रमिकको आशमा जोखिम मोलेर भरियाकै रुपमा काम गर्ने कामदार हुन भन्दा फरक नपर्ला ।
गाँजा उत्पादन हुने क्षेत्रबाट गाँजाको सानो-ठूलो परिमाणमा स्थानीय स्तरमै व्यापार भइरहेको छ। बिहान देखि राति सम्म निर्मल लामा बहुप्राविधिक शिक्षालयको पूर्व पट्टी रहेको झोलुङ्गे पुलबाट वडा नं. १० जाने बाटोबाट, मध्य दिउस सोझै खयरमारा बजारको मूल बाटोबाट खुलेआफ ओसारपसार हुनेकुरा सबैले कसरी आँखा चिम्लन सकेका होलान ??? मोटरसाइकलमा बरफ बेच्ने बहानामा गाँजा ओसारपसार गर्नेहरू पनि भेटिन्छन्। आजकाल बजार आसपासका खेतहरुमा खाल्टो खनेर पुरेको अवस्थामा पनि गाँजा भेटिने गरेको छ। निर्मल लामा बहु प्राविधिक शिक्षालय आसपासमा खुलेआम गाँजा बिक्री वितरण हुने गरेको स्थानीय स्रोतले जनाएको छ। जुनकुरा सबैलाई थाहा छ । शिक्षालय जस्तो संबेदनसिल ठाउँको वरपर खुलेआम किनबेच भैरहदा पनि कसैलाई मतलब छैन ।गाँजा खेतीले क्षेत्रीय स्तरमा आर्थिक गतिविधि त बढाएको देखिन्छ, तर यसले कानूनी, सामाजिक, र स्वास्थ्य समस्याहरू ल्याउने मान्नुस या नमान्नुस तर निश्चित छ। स्थानीय सरकार, प्रशासन, र जनसमुदायको साझा पहल बिना यसको दीर्घकालीन समाधान कहिलै हुन सक्दैन।
– विश्व लागूपदार्थ ओसार-पसार विरुद्धको दिवसको शुभकामना।
