
बर्दिबास नगरपालिका १० र ११ खयरमारामा रहेका विद्यालयहरूको माध्यमिक शिक्षा परीक्षा(SEE) को नतिजा अत्यन्तै निराशाजनक देखिएको छ। दुवै वडामा रहेका पाँच विद्यालयहरू जसका १०९ विद्यार्थीहरू माध्यमिक शिक्षा परीक्षामा समावेश भएकामध्ये जम्मा १२ जना उत्तीर्ण भएका छन्। यो नतिजा एकदमै निराशाजनक छ। यो निराशाजनक नतिजा आउनाको कारणहरू केलाउने प्रयास गरेका छौं।

सर्वप्रथम त शिक्षक नियुक्ति कै कुरा आउँछ। देशका अन्य सरकारी विद्यालयमा जस्तो खयरमाराका विद्यालयमा पनि शिक्षक नियुक्तिबाटै राजनीतिक सुरु हुन्छ। शिक्षक नियुक्तिमै राजनीति हुने भएपछि विद्यालय कसरी राजनीतिकबाट अछुतो रहन सक्छ ? नगर तथा स्थानीय तहमा राजनीतिक नेतृत्व फेरिने बित्तिकै शिक्षक फेरबदल गर्ने सिलसिला सुरु हुन्छ। आफ्ना दलका कार्यकर्ताहरूलाई भर्ती गर्ने अखडा बनाइन्छ विद्यालय।
यहाँ रहेका प्राय विद्यालयहरूमा व्यवस्थापन समिति नै राजनीतिक रुपमा चुन्ने गरिन्छ। यदि व्यवस्थापन समितिले आफ्नो राजनीतिक अविष्ट पूरा नहुने भए प्रधानाध्यापक तथा शिक्षकहरूलाई काम गर्नै नसक्ने वातावरण बनाउँछन् । यस्ता कुराहरु हामीले विगतमा भण्डाफोर गर्ने प्रयास गरेका छौं र गरिनै रहनेछौँ । आफ्नो राजनीतिक अविष्ट पूरा गर्न व्यवस्थापन समितिमा घुस्नेहरूले शिक्षकहरूको कामकाज, उपस्थिति र गुणस्तरमाथि कहिले अनुगमन गर्छ ? विद्यार्थीहरूको पठनपाठनमा आउने समस्यामाथि कसरी ठोस कदम चाल्छ ?विद्यालय व्यवस्थापन समितिको कमजोर अनुगमन र जवाफदेहिताले शिक्षण गुणस्तरमा असर पारेको छ। यसरी नतिजा खस्कनुमा अभिभावकहरु पनि जिम्मेवारी रहेका छन्। अभिभावकहरूले आफ्ना छोराछोरीहरूको विद्यालयमा उपस्थिति, गृहकार्य, घरमा सिकाइको वातावरण तथा अभिभावकहरूको शैक्षिक निगरानीको कमीले गर्दा पनि नतिजा खस्किएको छ। विद्यालयमा पठनपाठन गराउने शिक्षकहरूमा कर्तव्य बोध नभएर पनि नतिजा खस्किएको छ। विद्यालयमा विषयगत शिक्षकको अभाव, शिक्षकहरूको नियमित तालिमको कमी, र शिक्षण प्रक्रियामा नवीन विधिको प्रयोग नहुनु प्रमुख समस्या हुन सक्छ। कतिपय शिक्षकहरूले परम्परागत शिक्षण शैली अपनाउँदा विद्यार्थीको रुचि र सिकाइ प्रभावकारी हुँदैन।

विद्यार्थीहरूमा पढाइप्रति गम्भीरताको कमी, सामाजिक सञ्जाल र मनोरञ्जनमा बढी समय खर्चिनु, वैदेशिक रोजगारीको आकर्षण र “पढे पनि खाडी जाने” मानसिकताले विद्यार्थीको प्रेरणामा कमी ल्याएको छ। राष्ट्रिय स्तरमा शैक्षिक नीतिहरू (जस्तै आधारभूत तहमा प्रयोगात्मक अंक दिने प्रणाली) ले विद्यार्थीको आधार कमजोर बनाएको छ। साथै, शिक्षा मन्त्रालय र सम्बन्धित निकायहरूले सामुदायिक विद्यालयहरूको सुपरिवेक्षण र सहयोगमा प्रभावकारी भूमिका खेल्न सकेका छैनन्।
र अन्तमा तुलनात्मक रुपमा भन्नुपर्दा यसरी बर्दिबास नगरपालिका १० र ११ को विद्यालयको माध्यमिक शिक्षा परीक्षा (SEE) नतिजा खस्कनुमा प्रमुख जिम्मेवार शिक्षक र विद्यालय प्रशासन देखिन्छ। प्रत्यक्ष शिक्षण र सिकाई प्रक्रियामा शिक्षक र विद्यालय प्रशासनको प्रमुख भूमिका हुन्छ। प्रभावकारी नेतृत्व र शिक्षण विधिको अभाव नतिजा खस्कने प्रमुख कारण हो। विद्यार्थी र अभिभावकको मध्यम जिम्मेवारी रहेको छ। अभिभावक र विद्यार्थीको जागरुकताले नतिजामा फरक पार्छ तर यो शिक्षकको मार्गदर्शनमा निर्भर हुन्छ।
केन्द्रीय सरकार यसरी नतिजा खस्कनुमा कम जिम्मेवार हुन्छ किनकि नीतिगत संरचना तथा सुधारको प्रभाव लामो समयपछि देखिन्छ। त्यसैले तत्काल नतिजा खस्कनुमा केन्द्र सरकार कम जिम्मेवार देखिन्छ।
