बर्दिबास, महोत्तरी | २०८१ आषाढ
कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–१०, टुटेश्वरस्थित श्री जनता आधारभूत विद्यालयलाई ५ वटा सिलिङ फ्यान प्रदान गरेको छ।फ्यान हस्तान्तरण कार्यक्रम विद्यालय परिसरमै एक सानो समारोहका साथ सम्पन्न भएको थियो। कार्यक्रममा कुमारी बैंकका मधेस प्रदेश प्रमुख सुरेश यादव, मधेस प्रदेश अपरेसन विभागका प्रमुख विक्रम कुमार श्रेष्ठ र खयरमारा शाखा प्रमुख निर्माण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। उहाँहरूले विद्यालयका प्रधानाध्यापक अम्बर बहादुर विश्वकर्मालाई फ्यानहरू औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो।

यस सहयोग कार्यक्रममार्फत अत्यधिक गर्मीका कारण कक्षा कोठामा पठनपाठनमा समस्या झेलिरहेका बालबालिकाहरूलाई सहज र शीतल वातावरणमा अध्ययन गर्ने अवसर उपलब्ध हुने अपेक्षा गरिएको छ।कुमारी बैंक खयरमारा शाखाले विगत ३ वर्षदेखि यस क्षेत्रका बासिन्दाहरूलाई निरन्तर बैंकिङ सेवा, ATM सुविधा तथा वित्तीय साक्षरता अभिवृद्धिका कार्यक्रमहरू प्रदान गर्दै आइरहेको छ। यसरी सामाजिक क्षेत्रमा पनि सक्रिय भूमिका खेल्दै आएको कुमारी बैंकको यो कदमले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ।
