कुन प्रदेशमा बस्नेले धेरै कमाउँछन्।

Photo:- iStock

नेपालीहरूले यो वर्ष १,४५६ अमेरिकी डलर अर्थात् झन्डै १.९५ लाख नेपाली रुपैयाँ औसत आय गरेको अनुमान गरिएको छ।

केन्द्रीय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको विवरणअनुसार नेपालीहरूको औसत प्रतिमहिना आम्दानी झन्डै १६,००० र प्रतिदिन ५०० रुपैयाँ हुन्छ। तर बागमती प्रदेशमा बस्ने मानिसको औसत वार्षिक कमाइ ३.३० लाख भन्दा बढी र मधेश प्रदेशवासीको १.१८ लाख मात्रै हुने ठानिएको छ।गत वर्षको भन्दा नेपालीहरूको औसत प्रतिव्यक्ति आय भने ५७ डलर अर्थात् ७,६०० रुपैयाँले बढेको छ।

तथ्याङ्क कार्यालयका अनुसार नेपालीहरूको औसत आम्दानी केही वर्षयता बढ्दो क्रममा छ। सबै प्रदेशमा बस्ने नेपालीहरूको औसत आम्दानी समान छैन। बागमती प्रदेशमा बस्नेहरूको औसत कमाइ अन्य प्रदेशमा बस्नेहरूको भन्दा धेरै छ भने मधेश प्रदेशमा बस्नेले बागमती प्रदेशमा बस्नेहरूको भन्दा आधा पनि कमाइ गरेका छैनन्।बागमती प्रदेशपछि धेरै कमाउने गण्डकी प्रदेशमा बसोबास गर्ने मानिसहरू छन्। यो प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १,५५७ डलर छ। सातमध्ये पाँच प्रदेशका मानिसहरूको औसत कमाइ भने नेपालीहरूको औसत कमाइभन्दा न्यून छ।कार्यालयका अनुसार नेपालभरिको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १,४३४ डलर छ भने कोशी प्रदेशको १,३३६ डलर, लुम्बिनी प्रदेशको १,१५९ डलर, सुदूरपश्चिम प्रदेशको १,१११ डलर, कर्णाली प्रदेशको १,०६६ डलर छ।

मधेश प्रदेशको नीति तथा योजना आयोगका भूतपूर्व उपाध्यक्ष भोगेन्द्र झाले यो प्रदेशमा मानिसहरूको आम्दानी सबैभन्दा कम हुनुको प्रमुख कारण कृषिमा आश्रित ठूलो जनसङ्ख्या भएको बताए।तथ्याङ्क कार्यालयका अनुसार मधेश प्रदेशमा कृषिमा आश्रित मानिसहरूको सङ्ख्या सबैभन्दा धेरै देखिएको छ। यसअघि कार्यालयले गरेको कृषि गणनामा मधेश प्रदेशमा कृषि कामदारले पाउने ज्याला पनि अन्य प्रदेशहरूको तुलनामा काम देखिएको थियो।स्रोत

बीबीसी न्यूज नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *