
काठमाडौं, जेठ २१
यस वर्ष विपद्बाट करिब १८ लाख १ हजार जनसङ्ख्या र ४ लाख १२ हजार घरधुरी कुनै न कुनै रुपमा प्रभावित हुनसक्ने अनुमान छ । त्यसैगरि, मनसुनजन्य विपदबाट ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुन सक्ने र १८ हजार घर परिवारलाई मनसुनजन्य विपदमा उद्धार तथा राहत दिनु पर्ने आँकलन पनि गरिएको छ ।

यस वर्षको मनसुनमा हुनसक्ने जोखिम तथा क्षति आँकलन गरी संघीय मन्त्रालय, प्राधिकरण, विभाग, सुरक्षा निकाय, प्रदेश सरकार, जिल्ला तथा स्थानीय तहको जिम्मेवारी समेटिएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ पारित भएको छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा बसेको बैठकले कार्ययोजना पारित गरी सबै मन्त्रालय, विभाग तथा अन्य सम्वद्ध निकायलाई कार्यान्वयनका लागि निर्देशन दिने निर्णय गरेको हो ।
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनुसनमा देशका अधिकांश स्थानमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको आँकलन सार्वजनिक गरिसकेको छ ।

