व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अदालतले साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीले गरेको सिफारिसका आधारमा प्रसाईंसहित जीवन पाण्डे र दुर्गा खनालविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला अदालत, काठमाडौंका श्रेस्तेदार रामु शर्माले बताए। पछिल्लो समय विभिन्न अभियानमा लागेका व्यवसायी प्रसाईंले नेताहरूविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोत बताउँछ ।
बर्दिबास - २ अशोज २०८१ आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध आजदेखि सुरु भएको छ। यसलाई पितृ पक्ष पनि भनिन्छ, जहाँ दिवंगत पितृहरूलाई पिण्डदान, तर्पण, र सिदादान गरेर सम्मान गरिन्छ। वैदिक सनातन परम्पराअनुसार यो कर्मले पितृऋणबाट मुक्ति मिल्ने र पितृप्रतिको दायित्व पूरा हुने धार्मिक विश्वास छ। विशेष परिस्थितिमा श्राद्ध रोकिएमा शास्त्रमा वैकल्पिक तिथिहरू दिइएका छन्, जसअनुसार श्राद्ध अन्य समयमा पनि गर्न सकिन्छ। पितृ पक्षको समाप्तिसँगै बडादसैँ सुरु हुने भएकाले यसलाई चाडपर्वअघि पितृतृप्तिको कर्मका रूपमा पनि लिइन्छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ ।
विगत २४ घण्टामा नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीको फेसबुक पेज ४० हजार भन्दा धेरैले 'अनफलो' गरेको देखिएको छ भने यो समाचार तयार पार्दासम्म पनि यो क्रम जारी देखिन्छ। सामाजिक सञ्जालको निगरानी गर्ने अन्तर्राष्ट्रिय वेबसाइट ‘सोशल ब्लेड’का अनुसार सोमवारसम्म केपी ओलीको आधिकारिक फेसबुक पेज लाइक गर्नेहरूको सङ्ख्या ६,३२,७०८ थियो। तर बुधवार सम्म यो पेज लाइक गर्नेहरूको सङ्ख्या ५,८९,००० मात्रै देखिएको छ।
८ भदौ २०८१ सिन्धुली सिन्धुलीको गोलन्जोर गाउँपालिकामा सुनकोशी नदीमा गाडी खसेको छ । मध्य पहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोसी नदीमा गाडी खसेको हो। खोटाङको हलेसीबाट भक्तपुरतर्फ आउँदै गरेको एउटा हाइलक्स गाडी शनिबार साँझ सुनकोसी नदीमा खस्दा त्यसमा रहेका तीन जना बेपत्ता भएका छन् । सोही गाडीमा सवार एक जना घाइते भएका छन्। प्रहरीले गाडीलाई फेला पारेको प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
भदौ-७ शुक्रबार तनहुँ जिल्लास्थित आँबुखैरेनीनजिकै शुक्रवार बिहान मर्स्याङ्दी नदीमा खसेको बसमा सवार कम्तीमा २७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताएका छन्। उनका अनुसार गम्भीर अवस्थामा रहेका १६ घाइतेलाई सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाण्डू पठाइएको छ। उनीहरूलाई महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ।उक्त बस रूपन्देही जिल्लाको बेलहिया नाका हुँदै गत भदौ ४ गते नेपाल प्रवेश गरेको थियो। बसमा सवार केही मानिस बेपत्ता भएका र उनीहरूको खोजी कार्य भइरहेको छ।
